१४ चैत २०८२, बुधवार

भर्खरै

भित्र्याउनेलाई पद,लड्नेहरूलाई उपेक्षा—माओवादी जनयुद्धमा दाइ र हात गुमाएका प्रेम तामाङले छोडे कम्युनिस्ट पार्टी

घाम खबर संवाददाता ४ फागुन २०८२, सोमवार
भित्र्याउनेलाई पद,लड्नेहरूलाई उपेक्षा—माओवादी जनयुद्धमा दाइ र हात गुमाएका प्रेम तामाङले छोडे कम्युनिस्ट पार्टी

दोलखा। दोलखामा तत्कालीन माओवादीभित्र पछिल्लो समय अन्य पार्टीका नेता–कार्यकर्तालाई भित्र्याएर जिम्मेवारी दिने क्रम बढिरहेका बेला जनयुद्धमा प्रत्यक्ष रूपमा ठूलो क्षति व्यहोरेका प्रेम तामाङले पार्टी त्यागको घोषणा गरेका छन्।
दाइलाई सहिदका रूपमा गुमाएका र स्वयंले जनयुद्धकै क्रममा दायाँ हात गुमाएका तामाङको निर्णयले जिल्लाको राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
३० वर्षको योगदान, परिवारको बलिदान
प्रेम तामाङले २०५२ देखि २०८२ सालसम्म करिब ३० वर्ष माओवादी पार्टीमा योगदान दिएको उल्लेख गरेका छन्। जनयुद्धका क्रममा उनका २० वर्षे दाइ सहिद भएका थिए। उनी स्वयं गम्भीर घाइते भई दायाँ हात काटिएको बताएका छन्।
उनका अनुसार बुवाले पटक–पटक प्रहरी हिरासत र यातना भोग्नुपरेको थियो भने आमाले दैनिकजसो प्रहरी–आर्मीको धम्की र त्रास सहनुपरेको थियो। उनका भाइ जनमुक्ति सेना बनेर दर्जनौं युद्ध लडेका थिए भने श्रीमती पनि जनमुक्ति सेनामा रही मोर्चामा खटिएकी थिइन्।
“हाम्रो सिङ्गो परिवार माओवादी आन्दोलनमा सहभागी थियो,” तामाङले आफ्नो पत्रमा उल्लेख गरेका छन्। तर यति ठूलो बलिदान, संघर्ष र योगदानका बाबजुद राज्य वा पार्टीबाट कुनै सेवा–सुविधा, अवसर वा सम्मान नपाएको उनको गुनासो छ। जनयुद्धका घाइते योद्धालाई न पार्टीले सम्मान दिएको छ, न राज्यले गणतान्त्रिक योद्धाको रूपमा प्रमाणपत्र दिएको छ, उनले बताएका छन्।
दोलखा माओवादीभित्र असन्तुष्टि
यतिखेर तत्कालीन माओवादी, नेकपा एस लगायतका पार्टीहरू एकता गरेर नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेका छन्। तर दोलखामा माओवादीतर्फका जनयुद्धका क्रममा ठूलो संख्यामा नेता–कार्यकर्ता सहिद, घाइते र अपाङ्ग बनेका थिए। ती परिवारको सामाजिक तथा आर्थिक अवस्था अझै कमजोर रहेको पत्रमा उल्लेख छ।
“बल, बुद्धि र उमेर सबै युद्धमा प्रयोग गरियो, अहिले शरीरमा बम–गोलीका असर बाँकी छन्,” भन्ने पीडा व्यक्त गरिएको छ।
यता दोलखामा नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माओवादीतर्फका उम्मेदवार अघि सारेको छ। तर पत्रमा टिकट वितरण प्रक्रियामा एउटै घेराभित्र अवसर दोहोरिएको आरोप लगाइएको छ। विगतका विभिन्न निर्वाचनमा पनि सीमित व्यक्तिहरूलाई प्राथमिकता दिइएको र यसपटक पनि त्यही प्रवृत्ति दोहोरिएको दाबी गरिएको छ।
‘लड्नेहरू उपेक्षित, भित्र्याउनेलाई अवसर’
पत्रमा विशेष गरी अन्य पार्टीबाट आउने व्यक्तिहरूलाई भित्र्याएर पद दिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरिएको छ। एमाले लगायत अन्य दलमा रहँदा पद, सेवा–सुविधा लिइसकेका केही व्यक्तिहरू पुनः कम्युनिस्ट धारमा प्रवेश गरी जिम्मेवारी पाएको चर्चा चलिरहेका बेला जनयुद्धका प्रत्यक्ष पीडितहरू भने ओझेलमा परेको आरोप छ।
सहिद, घाइते र अपाङ्ग परिवार दैनिक गुजारा चलाउन संघर्ष गरिरहेका अवस्थामा पार्टीभित्र पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर भएको प्रश्न उठाइएको छ। उम्मेदवार पक्षको आर्थिक स्रोतबारे समेत जिज्ञासा राखिएको छ।
विद्रोहको घोषणा
माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार पटक प्रधानमन्त्री बने पनि जनयुद्धका घाइते र योगदानकर्ताले अपेक्षित सम्मान नपाएको उल्लेख गर्दै प्रेम तामाङले अन्ततः पार्टीबाट विद्रोह गरेको घोषणा गरेका छन्।
उनको निर्णयलाई केवल व्यक्तिगत असन्तुष्टि नभई दोलखा माओवादीभित्र बढ्दो असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ। चुनावी माहोल तातिरहेका बेला जनयुद्धका प्रत्यक्ष पीडितको यो बहिर्गमनले जिल्लाको राजनीतिक समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ।

309 Shares

लेखकको बारेमा

घाम खबर संवाददाता

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट