१४ चैत २०८२, बुधवार

भर्खरै

पार्वत गुरुङको जन्मथलो गौरिशंकरमा एमालेको चुनावी तापक्रम चर्कियो, जंग गुरुङ बने कमान्डर

घाम खबर संवाददाता २० माघ २०८२, मङ्गलवार
पार्वत गुरुङको जन्मथलो गौरिशंकरमा एमालेको चुनावी तापक्रम चर्कियो, जंग गुरुङ बने कमान्डर

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले दोलखाको गौरिशंकर गाउँपालिकामा अनुभवी नेता जंग गुरुङलाई चुनावी कमान्डरको जिम्मेवारी दिएको छ।
गौरिशंकर गाउँपालिका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पार्वत गुरुङको जन्मथलोसमेत रहेको यस क्षेत्रमा पार्टीले चुनावी तयारीलाई थप आक्रामक बनाएको हो। गौरिशंकर गाउँ पार्टी कमिटीको सोमबार बसेको बैठकले निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यसहित जंग गुरुङलाई कमान्डर तोकेको हो। बैठकले पार्टी संगठनलाई पूर्ण रूपमा निर्वाचन केन्द्रित गर्दै अभियानलाई तीव्र गतिमा अघि बढाउने निर्णयसमेत गरेको छ।
पछिल्लो समय दोलखाको राजनीतिक वृत्तमा प्रभावशाली र रणनीतिक व्यक्तित्वका रूपमा चिनिँदै आएका जंग गुरुङलाई व्यवस्थापनको जिम्मेवारी दिएपछि उत्तरी क्षेत्रका मतदातासँग समन्वय थप सहज हुने विश्वास दोलखा एमालेले लिएको छ।
चुनावी कमान्डर जंग गुरुङको नेतृत्वमा सह–कमान्डरको जिम्मेवारी पार्टी जिल्ला कमिटी सचिवालय सदस्य निमा लामा लाई दिइएको छ। पार्टीले निर्वाचन व्यवस्थापन, प्रचार–प्रसार, मतदाता समन्वय, स्वयंसेवक परिचालन, अनुगमन तथा आन्तरिक समन्वयका लागि विभिन्न उपसमितिहरू गठन गरी अभियानलाई तीव्र बनाउने जनाएको छ।
एमालेले गौरिशंकर गाउँपालिकामा घरदैलो अभियान, जनसम्पर्क कार्यक्रम, टोल भेला तथा प्रत्यक्ष अन्तर्क्रियामार्फत मतदातासँग संवाद बढाउने रणनीति तय गरेको छ। पार्टीले आफ्ना नीति, कार्यक्रम र घोषणापत्रका आधारमा जनताको विश्वास जित्ने लक्ष्य लिएको जनाएको छ।
चुनावी कमान्डरको जिम्मेवारी पाएपछि जंग गुरुङले निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्। उनले आपसी गालीगलौज र नकारात्मक प्रचारबाट टाढा रहँदै लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सबैलाई आग्रह गरेका छन्।
यसैबीच, प्रतिनिधि सभा सदस्यका उम्मेदवार पार्वत गुरुङ यसअघि दुई पटक निर्वाचन जितिसकेका अनुभवी नेता हुन्। उनको अनुभव, संगठनात्मक पकड र अब जंग गुरुङको कमाण्डले दोलखामा एमालेको चुनावी अभियान थप बलियो बनेको राजनीतिक विश्लेषकहरूको ठहर छ।

658 Shares

लेखकको बारेमा

घाम खबर संवाददाता

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट